काठमाडौं- कृष्णजन्माष्टमी अर्थात् ३ भदौदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित फिल्म ‘कृष्ण–लीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ ।
सिजी ल्यान्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्ण लीला’ का शीर्ष अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, निर्देशक दीपक ओली, गायक रवि ओड, गायिका सुनीता कार्की र कोरियोग्राफर माइकल चन्द मंगलबारै चितवन पुगेका थिए । कन्सर्टमा पुष्प र श्रद्धालाई भीडबाट जोगाउन सेक्युरिटीलाई हम्मेहम्मे परेको थियो । हजारौं दर्शकले पुष्प, श्रद्धालगायत गायक गायिकालाई घेरेका थिए ।
ओएसीस एजुकेसनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोसन टुरको कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरूलाई सम्बोधन गर्दै ‘कृष्ण लीला’ को ‘अटल बाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए । बुद्धि तामाङ र रवीन्द्र झाले दर्शकहरूलाई ‘कृष्ण लीला’ हेर्न आग्रह गर्दै रमाइलो प्रस्तुति दिएका थिए ।