×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालले लाओसलाइ दुई गोलले हरायो

नेपालले  लाओसलाइ दुई गोलले हरायो

काठमाडौं- आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा  विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा लाओसलाई २-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।

नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । अनन्तको यो नेपालका लागि तेस्रो गोल हो ।

त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए । कप्तान किरण चेम्जोङको लामो पासमा करिब ३० यार्डबाट बल नियन्त्रणमा लिदै नवयुगले उत्कृष्ट भली गोल गरे । नेपालका लागि उनको यो आठौं गोल हो ।

खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच चुनिए ।

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । र, नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ । त्यस्तै चैत १४ गते नेपालले भुटानसँग  खेल्नेछ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

 

प्रतिकृया दिनुहोस्