धरान– पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक वर्ष प्रकाशित गर्दै आएको क्यालेन्डर यो वर्ष भने ढिलोगरि सार्वजनिक गरेको छ ।
कोभिड–१९ को जोखिमका का कारण कुनै कार्यक्रम बिना नै सार्वजनिक गरिएको मिस पूर्वाञ्चल क्यालेन्डर २०७८ मा मिस पुर्वाञ्चल २०१९ का विजेता रिजु भट्टराई, फर्स्ट रनर्स अप एञ्जल राई तथा सेकेन्ड रनर्स अप सिम्रन लिम्बु र प्रतियोगीहरु अनुशा लिम्बु र शशी बिशंखेका तस्बिरहरु संग्रहित छन् ।
क्यालेण्डरमा ईमी मेकअप स्टुडियोको मेकअप र मिलान्ज स्टोर, ड्रेसेसरिज नेपाल, पूर्वेली ढाका टोपी ट्रेडर्स र ग्रेसियस बुटिकका विभिन्न पहिरनमा सजिएका मोडलहरुलाई प्रस्तुत गरिएको छ ।
फोटोग्राफर रोजेश शाक्यको फोटोग्राफी रहेको मिस पूर्वाञ्चल क्यालेन्डर २०७८ का १२ महिनामा १२ वटा तस्बिरहरु संग्रहित छन् ।
कोभिडको महामारीले गत वैशाखदेखि भएको निषेधाज्ञाको कारण ढिलो निकालिएको क्यालेन्डर गत बर्ष पनि कोभिडकै महामारीको कारण भएको लकडाउनले गर्दा निकालिएको थिएन ।
यो वर्ष भने निरन्तरताको लागि भए पनि क्यालेन्डर निकालिएको आयोजकले जनाएको छ ।
२०७६ पुस ५ गते सम्पन्न मिस पूर्वाञ्चलको दसौं संस्करणपछि कोभिडका कारणले गत वर्ष आयोजना हुन नसकेको मिस पूर्वाञ्चल यो वर्ष पनि अनिश्चित नै छ ।
लामो समय लगाएर गर्नुपर्ने कार्यक्रम भएकोले स्थिति सामान्य भएपछि मात्र आयोजना गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।