×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

के तपाईंको लाइसेन्स नक्कली त छैन होसियार है ! फन्दामा परिएला

के तपाईंको लाइसेन्स नक्कली त छैन होसियार है ! फन्दामा परिएला

काठमाडौं - के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ ।

यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरेकाले यो काम सम्भव भएको हो । विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई यो मोबाइल एप्स हस्तान्तरण गरिसकेको छ ।

यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि थिएन । जसका कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । अब भने आवश्यकताअनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एप्समार्फत लाइसेन्स प्रमाणीकरण गर्न सक्नेछ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार, एक वर्षे परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्युआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली-सक्कली छुट्याउन सक्नेछन् । ‘एकवर्षे परीक्षणकालको अवधिमा पाँचपटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा सो लाइसेन्स खारेजसमेत गर्न सक्ने प्रावधान छ, यसमा पनि एप्सले ठूलो भूमिका खेल्नेछ,’ उनले भने ।

महाशाखा प्रमुख एसएसपी उमेशराज जोशीले नयाँ एप्सका कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था अन्त्य भएको बताए । उनले ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एप्समार्फत् लाइसेन्स प्रमाणीकरण गर्न सक्ने बताए । उनले नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले विकसित प्रविधि प्रयोग गरी लाइसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने बताए ।

‘अब कोही कसैले नक्कली लाइसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानुनी दायराबाट उम्कन सक्दैनन् र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुनेछ,’ उनले

कसरी काम गर्छ एप्सले ?
विशेष प्रकारको मोबाइल एप्समार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परीक्षणकालीन लाइसेन्स ‘भेरिफाइ’ गरिन्छ । सो लाइसेन्समा रहेको क्यूआरलाई यस एप्समार्फत स्क्यान गरी लाइसेन्स भेरिफाइ गरिन्छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाइलमा इन्स्टल गरी चेकजाँचको क्रममा अन द स्पट लाइसेन्स भेरिफाइ गर्न सक्नेछन् । क्युआर स्क्यान गरी लाइसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ ।

प्रतिकृया दिनुहोस्