काठमाडाैँ, अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ भने झन्डै सात लाख मानिसहरूलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको छ ।
मौसमविद्हरूले आइडा अलिकति कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन् । तर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएका छन् ।
दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत गराएका छन् । न्यूअर्लियन्स नजिकै अस्पतालको छानाको हिस्सा आँधीले उडाएको थियो तर कोही पनि बिरामी घाइते भएनन् ।
आँधीको प्रभाव कस्तो छ?
लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन् । हजारौँ मानिसहरू सुरक्षित स्थानतर्फ भागेका छन् भने अन्य व्यक्तिहरूलाई आँधी नरोकिएसम्म भित्रै बस्न भनिएको छ ।
आइडाले न्यूअर्लियन्सको बाढी प्रतिरोधी क्षमताको पनि परीक्षण गर्नेछ । कट्रिना आँधीले सन् २००५ मा १८ सय जनाको ज्यान लिएपछि त्यहाँ विपद्सँग जुझ्ने क्षमतालाई मजबुत बनाइएको थियो । राष्ट्रपति बाइडनले आइडाले ‘जीवन जोखिममा पार्ने’ भन्दै यसको क्षति तटीय क्षेत्रभन्दा भित्रसम्म हुने उल्लेख गरेका छन् ।
उनले दशौँ हजार मानिसका निम्ति पुनः बिजुलीको आपूर्ति सहज बनाउन हप्तौँ लाग्न सक्ने बताए । आइडाले सप्ताहान्तमा मेक्सिकोको खाडीस्थित न्यानो पानी भएका क्षेत्रबाट शक्ति आर्जन गरेको थियो । उसले न्यूअर्लियन्सको दक्षिणमा रहेको पोर्ट फोर्सन् नजिकको जमिनमा क्याटगोरी फोरको आँधीका रूपमा अवतरण गरेको थियो जसको अर्थ यसले गम्भीर क्षति पुर्याउने आँकलन गरिएको थियो ।
एउटा ट्विटर सन्देशमा अमेरिकी राष्ट्रिय मौसम विभागले न्यूअर्लियन्सका बासिन्दालाई घरभित्रका झ्याल नभएका कोठामा जान र भित्रै बसिरहन सुझाव दिएको छ । आँधीका कारण मेक्सिकोको खाडीको लगभग ९० प्रतिशत तेल उत्पादनको काम रोकिएको छ । -बीबीसी