काठमाडौं - सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरिसकेपछि, कम्पनीले सर्वसाधारणका लागि शुक्रबारदेखि आईपीओ निष्कासन गरेको हो ।
लगानीकर्ताले आज (शुक्रबार) देखि असार १३ गतेसम्म यस आईपीओका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा अनलाइन प्रणाली ‘मेरोसेयर’ मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि जारी गर्न लागेको हो । कुल निष्कासनमध्ये सामूहिक लगानी कोष, आयोजना प्रभावित स्थानीय बासिन्दा, कर्मचारी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरेपछि बाँकी रहने २४ लाख १५ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको हो ।
कम्पनीको अवस्था:
यो कम्पनीले इलाम जिल्लाको सूर्योदय नगरपालिकामा जोगमई खोलामा ७.६ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाबाट कम्पनीले नियमित आम्दानी गरिरहेको छ । यस आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ ।
साथै, कम्पनीले ५.२ मेगावाट क्षमताको जोगमई क्यास्केड जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । निर्माणाधीन अवस्थामा रहेको यस आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ ।
कम्पनीले केयर रेटिङ्स नेपालबाट ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्राप्त गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
गत पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार, कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ रहेको छ । यस्तै, प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा छ भने कम्पनी १२ करोड रुपैयाँ सञ्चित नोक्सानीमा रहेको देखिन्छ ।