काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले १३ महिनापछि सरकारको नेतृत्व नेपाली कांग्रेसलाई हस्तान्तरण गर्ने बताउनुभएको छ। आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले एमाले र कांग्रेसबीचको सहकार्य भड्काउन विरोधीहरू सक्रिय रहेको समेत आरोप लगाउनुभयो।
अध्यक्ष ओलीले वर्तमान सत्ता समीकरण एक सहमतिमा बनेको स्पष्ट पार्दै एमाले सधैँ सरकारको नेतृत्वमा नरहने बताउनुभयो। "आज हामी सरकारको नेतृत्व गरिरहेका छौँ, कुनै पनि समय नेतृत्वमा हुँदैनौँ। अब १३ महिनापछि फेरि हामी नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिन्छौँ। हामीले सम्झौता गरेका छौँ," उहाँले भन्नुभयो।
सरकारको नेतृत्व आलोपालो गर्ने भए पनि पार्टीको मुख्य उद्देश्य भने 'मिसन ०८४' रहेको उहाँले जिकिर गर्नुभयो। उहाँका अनुसार, 'मिसन ०८४' कुनै अमूर्त कुरा नभई एमालेजस्तो देशभक्त शक्तिलाई देशको निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने अभियान हो।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रति लक्षित गर्दै ०६४ सालको जस्तो लहर आउने र बहुमत ल्याउने सपना नदेख्न सुझाउनुभयो।