काठमाडौं : निम्न र विपन्न वर्गका समुदायको सहजीकरणका लागी पशुपति क्षेत्र नजिकै एक करोड लागतमा ३ रोपनी ८ आना जग्गामा बिरामी कुरुवा घरको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो भवनको शिलान्यास गरेका हुन् ।
विपन्न वर्ग तथा असहाय परिवारका सदस्यहरुलाई काठमाडौं उपत्यकामा महँगो भाडा तिरेर बस्नुपर्दा उपचारमा पैसाको अभावमा भौतारिनुपर्ने अवस्थालाई अन्त्य गर्न बिरामी कुरुवाकोरुपमा बस्नुपरेका मानिसहरुलाई सहज बनाउनको निम्ति जग्गा भाडामा लिई भवन निर्माण गर्न लागिएको १०० ग्रुप नेपालका बब्लु गुप्ताले बताए ।
देशमै बसेर केही गरौं भन्ने भावका युवाहरु मिलेर गर्ने यस्ता कार्यहरुमा साथ र सहयोग गर्न पाउँदा गर्व लाग्ने बताउँदै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारको तर्फबाट र ब्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग गर्ने बताए ।
सो अभियानमा जोडिन आइपुगेका संचारकर्मी हरिशरण लामिछानेले यस्तो पवित्र कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । दुःखमा परेका मानिसहरुलाई सहयोग गर्न पाउँदा मनदेखि नै आनान्द लाग्ने उनको भनाइ थियो । सो जग्गा लामिछानेले भवन बनाउनका लागि १२ वर्षका लागि सहयोग स्वरुप प्रदान गरेका हुन् ।
लामो समयदेखि वैदेशिक रोजगारमा रहेर मातृभूमिलाई माया गर्नेहरु र देशमै रहेर सामाजिक भाव भएका ईसा गुरुङ, सुनिता गुरुङ ,किशोर महर्जन, विमल पन्त, १०० ग्रुपका बब्लु गुप्ता, भिम उपाध्याय, सपना रोक्का मगर लगायतका सहयोगी मनहरुको सहयोग रहेकाले सहयोगी मनहरु थपिँदै जाने र जो कोही यस्तो सामाजिक कार्यमा जोडिन चाहेमा सजिलै जोडिन पन्तले आह्वान समेत गरे ।
सो भवन २ तल्लाको रहने, भवनमा २४ वटा कोठा हुने, लक्षित वर्गलाई एक सहायता कक्ष र सुरक्षागार्डसहितको व्यवस्था हुनेछ भने बिरामी कुरुवाहरुलाई बिहान, बेलुकी यातायातको व्यवस्थासमेत रहने | कुरूवाहरूको लागि बस्ने सुविधासहित स्नान गृह र कपडा धुने व्यवस्था समेत गरिनेछ । कुरूवा एक्लै भएको अवस्थामा आलोपालो गरिदिने कोहि नभए परिस्थितिको गम्भिरता हेरि (बिरामीको अवस्था, आफन्त र डाक्टरको सहमति तथा पुरूषलाई पुरूष स्वयंसेवक तथा महिलालाई महिला स्वयंसेविका) एकदिनको लागि कुरूवा बसेर आफन्तलाई विश्राम को लागि पनि सहयोग गर्नेछौं भन्दै हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।