×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

पराजयको चोट पार्टी परित्यागसम्म

पराजयको चोट पार्टी परित्यागसम्म

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अन्ततः पार्टी परित्याग गरेका छन् । मंसिर तेस्रो साता सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित भएलगत्तै त्यसको दोष पूर्वराजा र निर्मल निवासलाई दिँदै आएका थापाले आफूले सारेका माग सुनुवाइ नभएको भन्दै मंगलबार राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु, पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ गृहजिल्ला मकवानपुर पुगेर उनले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

उनले विज्ञप्तिमार्फत अघि भनेका छन्, ‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहनेछु, पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहनेछु । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’

लामो समय राप्रपाको नेतृत्वमा रहँदै आएका र मंसिर तेस्रो साता सम्पन्न एकता महाधिवेशनमा आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १ सय ९९ मत अन्तरले पराजित भएका थापाको पार्टीबाट बहिर्गमन कुनै आकस्मिक निर्णय होइन । अध्यक्षमा पराजित भएको दिन उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जुन धारणा राखेका थिए, त्यसले उनी कुनै पनि दिन राप्रपाबाट अलग हुन्छन् भन्ने संकेत दिन्थ्यो ।

उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

उनी यतिमै सीमित भएका थिएनन् । महाधिवेशनमा पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै त्यसको छानबिन हुनुपर्ने, छानबिन नभए पार्टी दुर्घटनामा पर्ने चेतावनीसमेत दिँदै आएका थिए । आफ्ना असन्तुष्टि र माग सम्बोधन गर्न उनले नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई दबाब पनि दिँदै आएका थिए । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सोमबार आफूनिकट पदाधिकारी र सदस्यको भेला राखेर उनले आफ्नो मागप्रति पार्टी नेतृत्व गम्भीर नभएको भन्दै नयाँ विकल्पका लागि तयार रहन आग्रहसमेत गरेका थिए । भेलालगत्तै मकवानपुर गएका उनले भोलिपल्ट त्यहीँबाट राप्रपापाट अलग भएको घोषणा गरेका हुन् ।

सुकेधारामा भएको भेलामा उनले अध्यक्ष लिङ्देनले आफूलाई आएर भेटेको तर माग सम्बोधन गर्ने दिशामा उनी नदेखिएको बताएका थिए । ‘अध्यक्षजीसँग मेरो घरमै सामान्य कुरा भयो । मैले दुईपटक लिखितपत्र बुझाएर उठाएका विषय समाधानतर्फ उनी गम्भीर भएको मैले पाइनँ,’ उनले भनेका थिए्, ‘अध्यक्षको कुराअनुसार समस्याको निकास दिने सम्भावना रहेन । अहिलेसम्म निकास दिने छाँट नदेखिएकाले अब विकल्प खोज्नैपर्ने भएको छ ।’

भेलामा उनले भनेका थिए, ‘मैले उठाएका राजनीतिक र संगठनात्मक विषयलाई अध्यक्ष लिङ्देनजीले सम्बोधन गर्ने कुनै तत्परता देखाउनुभएन, मैले उठाएका माग सम्बोधन भएमा पार्टीमै बस्छु । यदि ती विषय सम्बोधन नभएमा विकल्प खोज्छु । त्यो अवस्थामा मलाई सबैको साथ सहयोग चाहिन्छ ।’

भेलामार्फत नै थापाले अध्यक्ष लिङ्देनलाई तीनवटा माग पूरा गर्न अल्टिमेटमसमेत दिएका थिए । ती माग सम्बोधन नगरे ‘नयाँ यात्रा’ थालनी गर्ने चेतावनी पनि उनले दिएका थिए । थापाको नयाँ यात्रा भने राजसंस्था छाडेर हिन्दूवादी दल खोल्ने उनको तयारीसँग जोडेर हेरिएको छ ।

भेलामा उनले भनेका थिए, ‘अब लामो समयसम्म प्रतीक्षा गरेर रहन सकिँदैन । पार्टी दुर्घटनातर्फ उन्मुख हुँदै गइरहेको छ, कार्यकर्तामा विचलन देखिएको छ । यही अवस्थामा स्थानीय चुनाव आइरहेको छ । हामीले यो अवस्थामा तीन विषय निराकरण गरिएन भने निरीह र लाचार भएर यो सबै घटनाक्रमको साक्षी भएर बस्न सकिन्न ।’

उनले अगाडि भनेका थिए, ‘मलाई नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन छैन । तर, बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरु हुन्छ । म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस् । हामी निर्णायक घडीमा आइपुगेका छौं ।’

पार्टी महाधिवेशनमा निर्मल निवासले गरेको हस्तक्षेपलगायत विषय’bout छलफल गरेर पार्टी नेतृत्वबाट निराकरण भयो भने आफू राप्रपामै रहने र देशैभर संगठन विस्तारका काममा लाग्ने उनको भनाइ थियो ।

त्यसो त थापाले यसअघि नै राष्ट्रिय एकता अभियान पुस २७ गतेदेखि सञ्चालन गर्ने तयारी पनि गरेका थिए । तर, कोरोनाको बढ्दो संक्रमणलाई कारण देखाउँदै तत्कालका लागि त्यो अभियान स्थगित गर्न पुगेका थिए ।

थापाले बोलाएको भेलामा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की, राजीव पराजुली, कुन्ती शाही, जयन्त चन्द, तोरणबहादुर गुरुङ, विक्रमबहादुर थापा र नीलकण्ठ काफ्लेलगायत सहभागी थिए । स्रोतका अनुसार, भेलामा सहभागी राप्रपा पदाधिकारीहरूले भने हतारमा निर्णय नगर्न आग्रह गरेका थिए । आजको राजधानी दैनिकमा खबर छ  ।

प्रतिकृया दिनुहोस्