×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

६० दिनभित्र सबै दलीय विद्यार्थी संगठन हटाउन निर्देशन, 'स्टुडेन्ट काउन्सिल' गठन गरिने

६० दिनभित्र सबै दलीय विद्यार्थी संगठन हटाउन निर्देशन, 'स्टुडेन्ट काउन्सिल' गठन गरिने

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सम्पूर्ण विभागहरूलाई आगामी ६० दिनभित्र सबै प्रकारका दलीय विद्यार्थी संघ, संगठनहरू हटाउन कडा निर्देशन दिएको छ। त्रिवि शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सम्पूर्ण विभागीय प्रमुखहरूलाई औपचारिक पत्र पठाउँदै विश्वविद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचनाहरू पूर्ण रूपमा हटाउन निर्देशन दिएको हो।

विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनात्मक पत्रका आधारमा त्रिविले यो कदम चालेको हो। शिक्षा क्षेत्रमा राजनीतिक दलको हस्तक्षेप अन्त्य गर्न, विद्यार्थीका वास्तविक समस्या र आवाजलाई सही ढङ्गले सम्बोधन गर्न तथा खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि यो निर्णय गरिएको निर्देशनालयका उप-प्रशिक्षक सन्देशकुमार रेग्मीद्वारा जारी पत्रमा उल्लेख छ।

निर्देशनअनुसार अबको ६० दिनभित्र विश्वविद्यालय तथा विद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचनाहरू पूर्ण रूपमा हटाइसक्नुपर्नेछ। त्यसैगरी, दलीय संरचना हटाइएको ९० दिनभित्र विद्यार्थीहरूको साझा र स्वतन्त्र प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ नामक नयाँ संयन्त्रको विकास गरिने जनाइएको छ।

निर्देशनालयले यस कार्यलाई तोकिएको समय सीमाभित्रै सम्पन्न गरी सोको जानकारी यथाशीघ्र उपलब्ध गराउन समेत सबै विभागहरूलाई निर्देशनानुसार अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्