×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

चीनमा हुँदै NRNA को ‘आरोहण २०२६’ सम्मेलन, विश्वभरका नेपालीलाई नेपालसँग जोड्ने ठूलो अभियान

चीनमा हुँदै NRNA को ‘आरोहण २०२६’ सम्मेलन, विश्वभरका नेपालीलाई नेपालसँग जोड्ने ठूलो अभियान

गैरआवासीय नेपाली संघ (NRNA) ले लगानी, नागरिकता, आर्थिक सहभागिता तथा विदेशमा रहेका नेपाली र नेपाल सरकारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्यसहित नयाँ अभियानलाई अगाडि बढाउने जनाएको छ।

मे २५ मा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै NRNA अध्यक्ष डा. हेमराज शर्मा ले एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमार्फत यी विषयलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताएका हुन्। उनले नेपाल सरकारले समेत डायस्पोराका मुद्दालाई प्राथमिकतामा राख्न थालेकोप्रति उत्साह व्यक्त गरे।

उनका अनुसार लगानी, पर्यटन र व्यवसाय केन्द्रित क्षेत्रीय सम्मेलन NRNA का लागि कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ। साथै दोस्रो पुस्ताका नेपाली युवा तथा विभिन्न क्षेत्रमा क्रियाशील विज्ञहरूलाई जोड्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइएको छ।

NRNA ले आफ्नो १३औँ महाधिवेशनमा विदेशमा रहेका सबै पञ्जीकृत सदस्यलाई मतदानको व्यवस्था गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ। साथै संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय एजेन्सीसँग सहकार्य गर्न छुट्टै संरचना निर्माण गरिएको जानकारी पनि दिइएको छ।

महासचिव चिरञ्जीवी खड्का ले क्षेत्रीय सम्मेलनको व्यवस्थापनका लागि केन्द्रीय कार्यालय मार्फत एकीकृत संयन्त्र निर्माण गरिएको बताए।

गैरआवासीय नेपाली संघ अन्तर्गत एसिया–प्रशान्त क्षेत्रको आयोजनामा आगामी सन् २०२६ अगस्ट १५ र १६ तारिखमा चीनको ग्वाङ्झाउस्थित Crowne Plaza Guangzhou City Centre मा ११औँ NRNA एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ आयोजना हुने भएको छ।

“आरोहण २०२६ – Rising Together: Connected Nepali Diaspora for Investment, Tourism and Generational Links” मूल नारासहित हुने सम्मेलनले विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक, सामाजिक तथा पुस्तान्तरणीय सम्बन्धमार्फत जोड्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

सम्मेलनका संयोजक तथा एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कंडेल का अनुसार चीनको प्रमुख व्यापारिक केन्द्र ग्वाङ्झाउमा आयोजना हुने सम्मेलनले दक्ष र स्रोतसाधनयुक्त नेपाली डायस्पोरालाई नेपालको लगानी र पर्यटन अवसरसँग जोड्नेछ।

सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, व्यापार–व्यवसाय साझेदारी, जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि तथा पूर्वाधार विकासका विषयमा विशेष छलफल हुनेछ। साथै श्रमिक सुरक्षा, महिला उद्यमशीलता तथा युवा सहभागितालाई पनि प्राथमिकतामा राखिने जनाइएको छ।

दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई आफ्नो पहिचान, संस्कृति र मातृभूमिसँग जोड्ने उद्देश्यले विशेष कार्यक्रमसमेत सञ्चालन गरिनेछ। विदेशमा जन्मिएका तथा हुर्किएका युवालाई संस्कृति, खेलकुद, साहसिक पर्यटन र ट्रेकिङमार्फत नेपालसँग भावनात्मक रूपमा जोड्ने योजना रहेको आयोजकको भनाइ छ।

दुई दिने सम्मेलनमा पाँच वटा सत्रमार्फत कार्यपत्र प्रस्तुत गरिनेछ। पहिलो दिन नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा उद्घाटन समारोह आयोजना हुनेछ भने “नेपालमा लगानीका सम्भावना र डायस्पोरा साझेदारी” विषयमा विशेष सत्र सञ्चालन गरिनेछ।

दोस्रो दिन पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता र पुस्तान्तरणीय सम्बन्धका विषयमा विस्तृत छलफल हुनेछ। सम्मेलनको समापनमा “ग्वाङ्झाउ घोषणा–२०२६” जारी गर्दै नेपाल सरकारलाई नीतिगत सुझाव तथा कार्ययोजना प्रस्तुत गरिने तयारी रहेको छ।

सम्मेलनमा ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्