मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्ड राज्यको राजनीतिमा होमिएका नेपाली मूलका युवानेता सतीश चापागाईंले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका छन्। मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ७ (ए) बाट हाउस अफ डेलिगेट्स सदस्यका लागि डेमोक्रेटिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहेका चापागाईं आफ्नो अभियानलाई स्थानीय समुदायसम्म पुर्याइरहेका छन् । प्राइमरी इलेक्सनको मिति नजिकिएसँगै समुदायस्तरमा आफ्नो अभियान लिएर पुगिरहेका चापागाईंले सकारात्मक प्रतिक्रिया पाइरहेको बताए। चापागाईं पत्रकारिता, सामाजिक अभियान, सामुदायिक नेतृत्व र राजनीतिक सक्रियताको लामो अनुभव बोकेका व्यक्तित्व हुन्। नेपालको पाल्पा जिल्लाका स्थायी बासिन्दा उनी सन् २००८ देखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।
नेपालमा रहँदा उनी एक दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय रहे। विभिन्न सञ्चारमाध्यममा पत्रकार, प्रशिक्षक तथा नेतृत्वदायी भूमिकामा काम गरेका उनले नेपाल प्रेस युनियन पाल्पाको सभापति र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीसमेत सम्हाले । अमेरिकामा पुगेपछि पनि उनले नेपाली समुदायको हित, सामाजिक एकता र आप्रवासी अधिकारका पक्षमा सक्रियता जारी राखे। उनी बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकाका पूर्वउपाध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व मिडिया संयोजक तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अमेरिकाका सल्लाहकार का रूपमा पनि सक्रिय छन्। त्यसैगरी नेपाल-अमेरिका पत्रकार संघ (नेजा) को विधान समिति संयोजकका रूपमा पनि उनको भूमिका उल्लेखनीय छ।
राजनीतिक रूपमा चापागाईं विगत चार वर्षदेखि मेरिल्याण्ड
डेमोक्रेटिक पार्टीको निर्वाचित केन्द्रीय सदस्यका रूपमा सक्रिय छन्। चार वर्षअघि सम्पन्न निर्वाचनमा उनी ४,१०० भन्दा बढी मत प्राप्त गर्दै पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। अहिले उनी सोही अनुभव र जनसमर्थनलाई आधार बनाएर मेरिल्यान्ड हाउस अफ डेलिगेट्स बन्ने दौडमा छन् ।
डिस्ट्रिक्ट ७ (ए) मा दुई सिटका लागि चापागाईंसहित चार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यही २३ जुनमा हुने प्राइमरी इलेक्सनमा बढी मत ल्याउने दुई जना डेमोक्रेटिक उम्मेदवारले नोभेम्बरमा रिपब्लिकन उम्मेदवारसँग अन्तिम प्रतिस्पर्धा गर्नेछन्। करिब ८३ हजार मतदाता रहेको डिस्ट्रिक्ट ७ (ए) क्षेत्र राजनीतिक रूपमा प्रतिस्पर्धात्मक मानिन्छ। यस क्षेत्रमा एसियाली मूलका मतदाताको राम्रै बसोबास छ।
चापागाईंले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक महत्त्वाकांक्षाभन्दा पनि अमेरिकामा बसोबास गर्ने नेपाली तथा आप्रवासी समुदायको प्रतिनिधित्व गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्। चापागाईं बहुमुखी प्रतिभाले सम्पन्न छन्। बाल्टिमोरमा श्रीमती र दुई छोरीसँग बसोबास गर्दै आएका चापागाईं पत्रकारिता र सामाजिक सेवासँगै व्यवसाय तथा साहित्य क्षेत्रमा पनि सक्रिय छन्। उनका गीत तथा साहित्यिक सिर्जनाहरू नेपाली समुदायमाझ लोकप्रिय छन्। चापागाईंको 'विमानस्थलमा बा' कविता निकै प्रसिद्ध छ। यस्तै प्रसिद्ध नेपाली चलचित्र 'परदेशी-२' को 'हिजो काम आज काम काम विदेशमा' बोलको गीत चापागाईंले नै लेखेका हुन्। यसबाहेक गायक रामकृष्ण ढकाल स्वरांकित 'फुटेको छु सिसाजस्तै' लगायत दर्जनभन्दा बढी लोकप्रिय गीत उनले सिर्जना गरेका छन् ।
चापागाईं स्वच्छ, समावेशी र उत्तरदायी राजनीतिमा विश्वास गर्दछन्। 'आप्रवासी समुदायको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउने' लक्ष्यसहित राजनीतिमा होमिएका चापागाईं नेपाली मूलका अमेरिकीहरूको नयाँ पुस्तालाई सार्वजनिक नेतृत्वतर्फ आकर्षण गर्ने व्यक्तित्वका रूपमा उभिएका छन्। पत्रकारिताको कलमबाट सुरु भएको उनको यात्रा आज अमेरिकी राजनीतिमा नेपाली समुदायको उपस्थितिलाई थप बलियो बनाउने अभियानमा रूपान्तरण भएको छ।