×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जर्ज मुन्सेको कीर्तिमानी शतकमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन

जर्ज मुन्सेको कीर्तिमानी शतकमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन

काठमाडौँ। लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम रोयल्सले अन्ततः तेस्रो प्रयासमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएलको ट्रफी चुमेको हो।

पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिमले यस पटक उपाधि जित्दै पुरानो हारको बदलासमेत लिएको छ। तेस्रो सिजनको उद्घाटन खेल र पहिलो क्वालिफायरमा समेत लुम्बिनीसँग हारेको सुदूरपश्चिमले फाइनलमा भने एकतर्फी जित निकाल्यो। सुदूरपश्चिमको जितसँगै एनपीएलको तीन वटै संस्करणमा तीन फरक टोली च्याम्पियन बनेका छन् भने तीनै संस्करणको फाइनल खेल्ने सुदूरपश्चिम एक्लो टोली बनेको छ। उता, लुम्बिनीले भने लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास रच्ने अवसर गुमायो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले विना विकेटको क्षतिमा मात्र १३.३ ओभरमा पूरा गऱ्यो। सुदूरपश्चिमको सहज जितमा स्कटिस ओपनर जर्ज मुन्से र विनोद भण्डारीले पहिलो विकेटका लागि १५८ रनको अविजित कीर्तिमानी साझेदारी गरे। विस्फोटक ब्याटिङ गरेका मुन्सेले ५४ बलमा १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १२५ रनको ऐतिहासिक पारी खेले। यो जारी एनपीएल तथा समग्र एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत उच्च स्कोर हो। उनलाई गतिलो साथ दिएका विनोद भण्डारीले २७ बलमा ३ चौकासहित ३० रनमा अविजित रहे। जारी सिजनमा शतक प्रहार गर्ने मुन्से तेस्रो तथा समग्र एनपीएल इतिहासमा शतक बनाउने छैटौँ खेलाडी बनेका छन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले ३१ बलमा ३ छक्कासहित सर्वाधिक अविजित ३९ रन बनाए। कप्तान रोहित पौडेलले ३० रन जोड्दै डार्सी सर्ट (२१ रन) सँग ३०, निरोशन डिकवेला (२८ रन) सँग ३९ र दिलीप नाथसँग ३४ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। यस्तै, छैटौँ विकेटका लागि दिलीप र अली शेख (२४ रन) बिच ३३ रनको साझेदारी भएको थियो। रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे।

प्रतिकृया दिनुहोस्