×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानमा गुन्जिए भानुभक्तका अमर रचना, भानु उत्सवमा साहित्यप्रेमीको उल्लेख्य सहभागिता

जापानमा गुन्जिए भानुभक्तका अमर रचना, भानु उत्सवमा साहित्यप्रेमीको उल्लेख्य सहभागिता

टोकियो । जापानको राजधानी टोकियोमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आदिकविका अमर रचनाहरूको भावपूर्ण वाचनसँगै नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको समर्पण झल्किने  ‘भानु उत्सव २०८३’ कार्यक्रम सम्पन्न भएको छ । आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘भानु उत्सव २०८३’ को आयोजना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर र तनहुँ समाज जापानले संयुक्त रुपमा गरेका थिए । 

कार्यक्रममा गिरिजा गैह्रे, सविना रेग्मी र गृष्मा पौड्यालले आदिकवि भानुभक्तका चर्चित रचनाहरू वाचन गर्दै उपस्थित साहित्यप्रेमीलाई नेपाली साहित्यको गौरवमय परम्परासँग पुनः साक्षात्कार गराउनुभयो। भानुभक्तका सिर्जनाले सभाहलमा साहित्यिक वातावरण सिर्जना गरेको थियो । अनेसास जापान च्याप्टरका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता तथा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तनहुँ समाज जापानका अध्यक्ष डा.भोजराज पन्थले संयोजन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विष्णु प्रसाद घिमिरे, प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली र अरुण पौडेलले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यलाई दिएको ऐतिहासिक योगदानको स्मरण गर्नुभयो। उहाँहरूले विदेशमा यस्ता साहित्यिक कार्यक्रमले नयाँ पुस्तामा भाषा, साहित्य र संस्कृतिप्रतिको अपनत्व बढाउने विश्वास व्यक्त गर्नुभयो।

तनहुँ समाज जापानका वरिष्ठ उपाध्यक्ष दीपक घिमिरेले ‘भानुभक्तको व्यक्तित्व र कृतित्व’ विषयमा जानकारीमूलक प्रस्तुति दिनुभएको थियो। सोही अवसरमा कवि सुमित्रा सुमीको कविता सङ्ग्रह ‘कलेजी बर्को’ को जापानमा औपचारिक विमोचन पनि गरिएको थियो। कार्यक्रमको अर्को आकर्षण खुला रचना वाचन रह्यो। डिजी शर्मा, सुजाता शर्मा, शान्ति अधिकारी, बैकुण्ठ भट्ट, सुजन बैरागी, मनिषा सुबेदी, विश्वबन्धु भण्डारी, इन्दिरा खनाल, अमृत ढकाल, सोना केसी, लक्ष्मी पौडेल, दीपा घिमिरे, यमलाल कँडेल, सरिता ढकाल, शारदा पाण्डे, सरोज घिमिरे, धिषण निरौला, राजन चिमरिया तथा प्रिजम न्यौपानेलगायतका स्रष्टाहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै कार्यक्रमलाई थप साहित्यिक बनाएका थिए। चार बर्षिय इवा पौडेलको आकर्षक सांस्कृतिक नृत्यले कार्यक्रममा सांस्कृतिक रंग थपेको थियो। 

भानु उत्सवकै अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको एसिया क्षेत्रीय उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकाेमा अनेसास जापानका पुर्व अध्यक्ष समेत रहनुभएका दिनेशराज ज्ञवालीलाई सामूहिक रूपमा बधाई तथा शुभकामना अर्पण गरिएको थियो । साहित्यिक अभियानमा उहाँको नयाँ जिम्मेवारी अझ प्रभावकारी र प्रेरणादायी बन्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।

करिब ८०/ ९० जना साहित्यप्रेमी तथा नेपाली समुदायका व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रममा तनहुँ समाज जापानका महासचिव डा। दिपेन्द्र ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अनेसास जापानका महासचिव मनोज मौसम केसी र सचिव विनिशा सापकोटाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाइएको उक्त भानु उत्सव २०८३ विदेशमा पनि आदिकवि भानुभक्त आचार्यको साहित्यिक विरासतलाई जीवन्त राख्ने साझा प्रयासका रूपमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्