काठमाडौं - प्रतिनिधिसभा सदस्य (सांसद) एवं युवा नेता केपी खनालले आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नं. २ का ५५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा पढाउने घोषणा गरेका छन्। हालै प्रकाशित सेकेन्डरी एजुकेसन एक्जामिनेसन (SEE) मा उत्तीर्ण भएका तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई प्लस टु (+२) अध्ययनका लागि उनले 'MP Scholarship Program' सार्वजनिक गरेका हुन्।
"५५ विद्यार्थी, ५५ सपना" भन्ने नाराका साथ सुरु गरिएको यस कार्यक्रमबारे जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खनालले चुनावका बेला क्षेत्रवासी बालबालिका र अभिभावकले आफू प्रति देखाएको आशा र भरोसालाई न्याय गर्न यो कार्यक्रम ल्याएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, "आदरणीय कैलाली क्षेत्रवासी मेरा अभिभावकज्यूहरू, तपाईंहरूका परिवारका बालबालिकाले चुनावको समयमा जुन मप्रतिको आशा देखेर तपाईंहरूलाई भोट हाल्ने बनाउनुभएको थियो, आज उनै बालबालिका मध्ये SEE नतिजामा पास भएका ५५ जना गरिब, जेहेन्दार, विपन्न परिवारका विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति कार्यक्रम ल्याएका छौँ।"
सांसद खनालले आफ्नो क्षेत्रका SEE उत्तीर्ण सम्पुर्ण योग्य विद्यार्थीहरूलाई उपलब्ध गराइएको डिजिटल लिङ्कमा गई फारम भरेर प्रवेशपत्र लिन आह्वान गरेका छन्। विद्यार्थीहरूले फारम भर्दा आफू बसोबास गरिरहेको क्षेत्रको नजिक पर्ने पालिकाको केन्द्र छनोट गर्नुपर्ने प्रावधान राखिएको छ।
छात्रवृत्ति आवेदन लिङ्क: https://mpscholarship.kpkhanal.com/
१७ वर्षकै उमेरमा काठमाडौँका सडक बढारेर "क्लिन काष्ठमण्डप" अभियानबाट चर्चामा आएका र राष्ट्रपतिबाट 'जनसेवा श्री पदक' समेत पाएका खनाल हालै सम्पन्न निर्वाचनमा कैलाली-२ बाट भारी मतका साथ निर्वाचित भएका थिए। विगतमा बाजुरामा अनाथ आश्रम निर्माणदेखि विभिन्न मानवीय कार्यमा सक्रिय रहेका खनालले नीति निर्माणसँगै रैथाने तहमा शिक्षा क्षेत्रमा गरेको यो योगदानलाई स्थानीयस्तरमा निकै सकारात्मक रूपमा हेरिएको छ। छात्रवृत्ति सम्बन्धी थप विस्तृत विवरण चाँडै नै भिडियो सन्देश मार्फत सार्वजनिक गरिने सचिवालयले जनाएको छ।