नायिका गौरी मल्लले कलाकारलाई दिइने कुनै पनि उपाधि कागलाई हेलमेट लगाए जस्तो हुन नहुने जवाफ दिएकी छिन् । नायकद्धय शिव श्रेष्ठ र भुवन केसीले आइतबार आयोजित एक कार्यक्रममा गौरीलाई ‘महानायिका’ भनेका थिए ।
सोही समारोहमा उपस्थित गौरीले भनिन्–‘कुनै पनि उपाधि धान्न सकिने हुनुपर्छ । उपाधिका लागि सो व्यक्ति लायक पनि हुनुपर्छ । पाउने व्यक्तिले पनि उपाधिको लागि आफू लायक छु या छैन भनेर अन्तरबोध गर्न आवश्यक छ ।’
गौरीले आफूहरुले काम सुरु गर्दा उपाधि पाइन्छ भनेर नगरेको समेत स्पष्ट पारिन् । भनिन्–‘मैले काम सुरु गर्दा कुनै उपाधि पाइन्छ भनेर गरेकै होइन । विस्तारै हिड्दै हिड्दै यहाँ आएकी हुँ । मलाई त यो देशमा कुनै पनि उपाधिको औचित्य छ जस्तै लाग्दैन । यहाँ त उपाधि भनेको कुनै पनि तस्वीरलाई भित्तामा सजाएर पूजा गरे जस्तो मात्र भएको छ । यसैले, मलाई यस्ता उपाधि चाहिएको पनि छैन । हामी काम गर्ने मानिस हौं, हामीलाई काम दिए पुग्छ ।’