काठमाडौं
बंगलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ। प्रधानमन्त्री शेख हसिना र बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीबीच मंगलबार भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री हसिनाले सो विषय जानकारी गराएकी हुन्।
सन् २०४० सम्म बंगलादेशले कुल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ। बंगलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ।
शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बंगलादेशस्थित नेपाली दूतावासले जनाएको छ।
सो अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका अलावा असल छिमेकीको सम्बन्ध रहेको बताएका थिए।
प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बंगलादेशको स्वतन्त्रताका संग्राम नेपाली राजनीतिक तथा नागरिक समाजले गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताइन्।