वीरगञ्ज - बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले सफाइ पाएका छन्। उच्च अदालत वीरगञ्ज इजलासले जिल्ला अदालत रौतहटको जन्मकैद फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो।
न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले बुधबार आलमलाई सफाइ दिने फैसला गरेको हो। आलममाथि २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो राति रौतहटको राजपुरस्थित इँटाभट्टामा त्रिलोकप्रताप सिंह, ओशी अख्तर लगायतका घाइतेहरूलाई जिउँदै जलाएर हत्या गरेको गम्भीर आरोप लागेको थियो। उक्त घटनाको १२ वर्षपछि २०७६ असोजमा उनी पक्राउ परेका थिए।
उच्च अदालतले आलमलाई दोषी ठहर गर्नका लागि पर्याप्त प्रमाण नभेटिएको आधारमा सफाइ दिएको जनाइएको छ।
के हो घटना?
२०६४ सालमा नेपालको राजनीतिक इतिहासमा पहिलोपटक संविधानसभाको निर्वाचन हुँदै गर्दा देशभर चुनावी सरगर्मी बढेको थियो। माओवादीको दश वर्षे हिंसात्मक विद्रोह शान्तिपूर्ण राजनीतिमा आएको थियो र २४० निर्वाचन क्षेत्रमै चुनावी माहौल तातेको थियो। रौतहट क्षेत्र नं. २ मा भने राजनीतिक तापमान अझ बढी थियो।
यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार थिए मोहम्मद अफताब आलम। निर्वाचनको मिति २०६४ चैत २८ गते तोकिएको थियो। अन्य राजनीतिक दल घरदैलोमा व्यस्त रहँदा आलम समूह भने बुथ कब्जा गर्ने रणनीति बनाइरहेको आरोप थियो। सोही योजनाअनुसार चैत २७ गते राति रौतहटको राजपुर फरहदवास्थित आलमका कार्यकर्ताको घरको गोठमा बम बनाउने क्रममा विस्फोट भएको थियो। यो तयारी मूलतः विपक्षीलाई तर्साउने र बुथ कब्जा गर्ने उद्देश्यले गरिएको बताइन्छ।
उक्त विस्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने करिब २२ जना घाइते भएका थिए। यो घटना लुकाउन र अपराध ढाकछोप गर्न आलमले बम विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई समेत जिउँदै नजिकैको इँटाभट्टामा हालेर जलाएको आरोप लागेको थियो। यो घटनालाई चुनावताका भएका घटनामध्येकै एक बीभत्स घटनाका रूपमा लिइन्छ।