×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पर्यटन

चितवनराष्ट्रिय निकुञ्जमा जिप सफारी खुला गर्ने तयारी !

चितवनराष्ट्रिय निकुञ्जमा जिप सफारी खुला गर्ने तयारी !

चितवन - चितवनराष्ट्रिय निकुञ्जले अर्को सातादेखि जिप सफारी खुला गर्ने तयारी गरेको छ ।
कोरोना भाइरसको महामारी र वर्षासमेत कम भएको तथा व्यवसायीहरुले अनुरोध गरेका कारण जीप सफारी खोल्ने तयारी गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।

अधिकारीका अनुसार असोज १२ गतेसम्म निकुञ्ज भित्र पर्यटकहरुका लागि जिप सफारी खोल्ने गरी तयारी अघि बढाइएको छ । उनका अनुसार अहिले जिप गुड्ने सडकहरु मर्मत, सुधार र झाडीहरु पन्छाउने काम भैरहेको छ । गत वैशाख तेस्रो साताबाट निकुञ्जमा जिप सफारी बन्द गरिएको थियो । हरेक वर्ष वर्षाका तीन महिना (असार, साउन र भदौ)मा निकुञ्जले जीप सफारी रोक्दै आएको थियो । जीप सफारी बन्द हुँदा निकुञ्जको राजश्वसमेत घट्दै गएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जीपमा पर्यटक राख्न व्यवसायीलाई अनुरोध गरिएको अधिकारीले बताए । निकुञ्जले प्रति जीप ५ हजार तथा प्रत्येक नेपाली पर्यटकसँग १५०, सार्क देशका पर्यटकसँग एक हजार र विदेशी पर्यटकसँग दुई हजार प्रवेश शुल्क लिदै आएको छ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२, मेघौलीबाट ४, कसराबाट ६ र अमलटारीबाट ४ वटा जीप जाने गरेका छन् ।

कोरोना भाइरसको महामारीका बीच पनि गत आर्थिक वर्ष ९२ हजार २ सय ९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । गत आर्थिक वर्ष ८९ हजार ६ सय १ नेपाली, १३ सय ६४ सार्क देशका र १२ सय ४४ जना तेस्रो देशका पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । गत आर्थिक वर्ष पर्यटन क्षेत्रबाट मात्रै २ करोड ५५ लाख ३७ हजार ८ सय २८ रुपैयाँ राजश्व संकलन गरेको निकुञ्जले जनाएको छ ।

प्रतिकृया दिनुहोस्